यु. के. मा नेपालसम्बन्धी प्राज्ञिक सम्मेलन सम्पन्न

१५ अप्रिल २०१७
रेडिंग, यु. के.

बेलायतमा रहेको नेपालसम्बन्धी प्राज्ञ तथा अध्येताहरूको संस्था बेलायत-नेपाल प्रज्ञा परिषद (Britain-Nepal Academic Council) ले गत १२ र १३ अप्रिलका दिन बोर्नमाउथ विश्वविद्यालयमा दुई दिने नेपाल अध्ययन दिवस सम्पन्न गर्नुका साथै साधारण सभा,  लगायतका विभिन्न गतिविधिहरू गरेको छ । सन्  २००० मा च्यारिटी संस्थाको रुपमा स्थापित भएको यस परिषदले नियमित कायर्क्रमको अलवा नेपालसम्बन्धी विभिन्न प्राज्ञिक छलफल तथा प्रवचनको आयोजना गर्ने गर्दछ ।

नेपाल वा नेपाली सांस्कृतिक संसारसँग सम्बन्धित ताजा अनुसन्धान प्रस्तुत र छलफल हुने नेपाल अध्ययन दिवसमा यो बर्ष विभिन्न विषयका २१ वटा कार्यपत्र, ८ वटा पोस्टर , एक विशेष प्रस्तुति र पिएचडी कार्यशाला रहेको परिषद्का महासचिव डा. कृष्ण अधिकारीले जानकारी दिए । उक्त कायर्क्रममा नेपालको बारेमा रुची राख्ने स्थापित प्राज्ञदेखि शोधमा लागेका नयाँ विद्यार्थी र स्वतन्त्र अनुसन्धानकर्ता गरी बेलायत, हङकङ, नेपाल, र युरोपेली देशका ६० जना भन्दा बढीको सहभागिता रहेको थियो । जस अनुसार विभिन्न यौन तथा प्रजनन् स्वास्थ्य; धर्म, संस्कृति र पहिचान; स्वास्थ्य; राजनीति र डायस्पोरा; उर्जा; र भुकम्प तथा विपत व्यवस्थापन गरि ६ विधामा कार्यपत्र प्रस्तुति र व्यापक छलफल भएको थियो ।

परिषद्का अध्यक्ष तथा अक्सफोर्ड युनिभरसिटीका प्राध्यापक डेभिड गेल्नरको स्वागत मन्तव्यसहित शुरु भएको उक्त कार्यक्रममा  यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी बिषयमा लिभरपुल जोन मोर्स युनिभर्सिटीका डा. एकनारायण पौडेल र डा. सारा पार्कर, तथा एबरिस्टविथ विश्वविद्यालयका डा. देवराज आचार्यले कार्यपत्र प्रस्तुत गरे । त्यसै गरेर सोआसका प्राध्यापक माइकल हट्को अध्यक्षतामा धर्म, संस्कृति र पहिचान विधामा ग्लास्गो विश्वविद्यालयकी कुमुद राणा, दि वेष्ट अफ स्कटल्याण्ड विश्वविद्यालयका कल्याण भण्डारी, स्वानजी विश्वविद्यालयका रविन्द्र न्यौपाने, सोसल साइन्स वहा: काठमाडौंका जीवन बानियाले कार्यपत्र प्रस्तुत गरे । त्यस्तै डरम विश्वविद्यालयका डा. बेन क्याप्बेलको अध्यक्षतामा मार्टिन चौतारी नेपालका डा. प्रत्यूष वन्तले नेपाल अध्ययनको मोटामोटी विश्वव्यापी अवस्था र चुनौतीसम्बन्धी विशेष कार्यपत्र पेश गर्दै छलफल चलाएका थिए।

प्रस्तुतिका सिलशिलामा स्वास्थ्य विषयमा ब्रिस्टल विश्वविद्यालयका डा. पुष्पराज पन्त, वेष्ट अफ इंग्ल्याण्ड विश्विद्यालयका सन्तोष भट्ट, लिभरपुल जोन मोर्स विश्विद्यालयका प्राध्यापक पदम सिम्खडा र विभा सिम्खडाले  शोधपत्र प्रस्तुत गरेका थिए । यसै गरेर इतिहास र डायस्पोरा विषयमा परिषद्का महासचिव तथा अक्सफोर्ड विश्वविद्यालयका डा. कृष्ण अधिकारीले एक शताब्दीदेखि छुटिएका फिजी-नेपालीको बारेमा; सोआसकी अमाण्डा टेलरले ब्रिटिश राजको सिमान्तमा परेका पूर्वोत्तर भारतका नेपाली गोर्खा र कुल्लीबारे एक क्याप्टेनको अभिलेखबारेमा, र नेपाल अध्ययन केन्द्रका डा. चन्द्र लक्सम्बाले सांस्कृतिक दोधारमा रहेका बेलायतका नेपाली युवाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उर्जासम्बन्धी बिषयमा डा. बेन क्याम्पबेल लगायतले भुकम्पपछि सृजित परिस्थितिमा उर्जा अनुसन्धानको सम्भावना, नवीकरणीय उर्जा र जलविद्युतप्रतिकोआशा बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै समय सान्धर्भिक भुकम्प तथा विपत व्यवस्थापन विषयमा प्राध्यापक माइकल हटले धरहरा पुनर्निर्माणको बारेमा; सेफिल्ड विश्वविद्यालयका कृष कार्टराइटले नेपालको भुकम्प विपत्तिको सामनासम्बन्धी; लिभरपुल जोन मोर्स विश्वविद्यालयकी सपना विष्टले भुकम्प व्यवस्थापनमा अपाङ्गहरूको दृष्टिकोणबारेमा; र अक्सफोर्ड ब्रुक्स विश्वविद्यालयकी लक्ष्मी गुरुङले चुस्त  पुनर्निर्माणमा समन्वय र योजनाको ‘बिम’ रणनीतिक अवधारणबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

रमाइलो आकर्षणका रुपमा परिषदले आगामी बर्षदेखि प्रतिस्पर्धाको आधारमा प्रदान गर्नेगरि २५० पाउण्ड धनराशीको  उत्कृष्ट विद्याबारिधि शोधपत्र पुरस्कारको पनि घोषणा गरेको छ । यसमा नेपाल वा नेपाली संस्कृति सम्बन्धी शोध गरेका नेपाल, बेलायत वा युरोप क्षेत्रका विद्यार्थीहरूले भाग लिन पाउने छन् । लामो समयदेखि बेलायतमा नेपाल सम्बन्धि अध्यन तथा अनुसन्धान गर्दै आईरहेको यस परिषदले दिनानुदिन नेपाली डायस्पोरालाई सशक्तिकरण गर्नुकासाथै नेपालको बिकासमा पनि प्रत्यक्ष वा परोक्ष रुपमा योगदान पुर्याईरहेको निशंदेह स्वीकार्न सकिन्छ ।

कार्यक्रमको बिस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस

थप फोटोहरू: यहाँ क्लिक गर्नुहोस

some content here
 थप पोस्ट

बेलायतमा एमाले र माओबादी पार्टीका मंचहरु बीच एकता बारे छलफल

२१ मे २०१८

रेडिंग, युके

 

नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी एमाले र माओबादी केन्द्र बीच गत १७ मे (जेष्ठ ३ गते) मा पार्टी एकीकरण सम्पन्न भएपछि बिस्तारै यसको प्रभाब बेलायतमा पनि देखिएको छ / एमालेको भातृ संगठनको रुपमा सक्रिय रहेको प्रबासी नेपाली मंच रेडिंग इलाका कमिटीले गत आइतबार २० जुलाइका दिन केक काटेर पार्टी एकताको स्वागत गरेको छ / रेडिंग इलाका कमिटिका अध्यक्ष्य प्रतिमा केसी तथा पुर्ब अध्यक्ष्यहरु अर्जुन बस्नेत र डा. कृष्ण रेग्मीले संयुक्त रुपमा केक काटेर सबैसंग खुसी साटेका थिए / स्थानीय थेम्स भ्याली पार्कमा रेडिंग तथा स्वीन्डन  क्षेत्रमा बसोबास गर्ने एमाले समर्थक तथा शुभेच्छुकहरुको ठुलो उपस्थितिमा बिबिक्यु तथा मनोरंजन गरी उक्त स्वागत कार्यक्रम सम्पन्न भएको छ / रेडिंग इलाका कमिटि अध्यक्ष प्रतिमा केसीको अध्यक्ष्यता, सचिब कृष्ण आचार्यको संचालन र उपाध्यक्ष्य नारायण कंडेलको स्वागत मन्तब्यबाट शुरु भएको उक्त कार्यक्रममा प्रबासी नेपाली मंचका युरोप क्षेत्रीय सदस्य राम शरण सिम्खडाको प्रमुख आतिथ्यता तथा प्रबासी नेपाली मंच बेलायतका उपाध्यक्ष्य द्वय कुमार केसी र नारद भण्डारीको उपस्थिति रहेको थियो /

बिबिक्यु सहितको खानपान, औपचारिक कार्यक्रम तथा मनोरन्जन गरी तीन चरणमा गरिएको उक्त कार्यक्रममा बोल्दै मंचका युरोप क्षेत्रीय सदस्य तथा पुर्ब अध्यक्ष्य राम शरण सिम्खडाले एमाले र माओबादी पार्टी एकीकरण एक ऐतिहासिक कार्य भएको र देश विकासको लागी एउटा महत्वपूर्ण खुड्किलो हुने बताए / त्यसै गरी प्रबासी नेपाली मंचका उपाध्यक्ष तथा रेडिंग इलाका इन्चार्ज  नारद भण्डारीले माओबादीसंग बिगतमा कतिपय कुरामा मनमुटाब र असमझदारी भए पनि पार्टी एकीकरण स्वागतयोग्य रहेको बताए / प्रबासी नेपाली मंच बेलायतका पुर्ब सल्लाहकार तथा रेडिंग इलाका कमिटिका पुर्ब अध्यक्ष डा. कृष्ण रेग्मीले पार्टी एकीकरण आफैमा राम्रो कुरा हो तर यसलाई पूर्ण रुपमा व्यवहारमा लागु गरेमा मात्र हाम्रो यो खुसी बास्तबिक खुसीमा परिणत हुनेछ भन्नु भयो / उक्त कार्यक्रममा बुद्दिजिबि डा. चन्द्र बहादुर गुरुङ, रेडिंग इलाका कमिटिका पुर्ब अध्यक्ष अर्जुन बस्नेत तथा देबेन्द्र श्रेष्ठले समेत आफ्नो भनाइ  राख्नु भएको  थियो /

कार्यक्रममा प्रबासी नेपाली मंच युकेका उपाध्यक्ष्य कुमार केसीले तीनवटा प्रस्ताबहरु पेश गर्नु भएको थियो / दुवै पार्टी एकीकरण भएकोमा सर्बसम्मत रुपमा स्वागत गर्ने, रेडिंग तथा त्यस क्षेत्रमा रहेको माओबादीको भात्रृ संगठन नेपाली जनप्रगतिशील मंचसंग एकताको छलफल गर्न पाँच सदस्यीय कमिटि गठन गर्ने र लामो समयदेखि स्वास्थ्य उपचार गराइरहेका प्रा. नारायण गुरुङको स्वाथ्यलाभको कामना गर्ने प्रस्ताब प्रस्तुत गर्दा सर्बसम्मत रुपमा पारित भएको थियो / एकता बार्ता तथा छलफलका लागी सो भेलाले रेडिंग इलाका कमिटिका अध्यक्ष्य प्रतिमा केसीको संयोजकत्वमा डिल्ली घिमिरे, यादव श्रेष्ठ, भीमसेन खड्का र करन गुरुङ रहेको पांच सदस्यीय कमिटि बनाएको छ /

कार्यक्रमको अन्तमा इलाका कमिटिका अध्यक्ष प्रतिमा केसीले यो बिशेष खुसीको दिन हो अब हामी रेडिंग तथा बेलायतभर रहेका दुवै मंचका सदस्यहरु निकट भविष्य मै एक हुनेछौ भन्दै घरघरबाट खानेकुराका बिभीन्न परिकार बनाएर ल्याउनु हुने दिदीबहिनी, बिबिक्यु ब्यबस्थापनमा बिशेष भूमिका निभाउनु हुने भीमसेन खड्का, रामेश्वोर थापा, सुरेश थापा तथा लक्ष्मण श्रेष्ठलाई धन्यबाद समेत दिएका थिए /

GRNCA को अगुवाइमा रेडिङमा भब्य संयुक्त बुद्ध जयन्ती

बेलायतको  रेडिङमा स्थित संपुर्ण संघ सँस्थाहरुको सहकार्यमा संयुक्त रुपमा बुद्ध जयन्ती मनाएको छ । ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनको आयोजना र अग्रसरता तथा रेडिङस्थित विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा २५६२ औं बुद्ध जयन्ती मनाइएको हो । यही ५ मे का दिन रेडिङस्थित पाकिस्तानी कम्युनिटी सेन्टरको सभाकक्षमा बिहान ८ देखि दिऊसो २ बजेसम्म कार्यक्रम गरिएको हो ।

Buddha

बुद्ध जयन्ती कार्यक्रमको पहिलो चरणमा नेपालबाट आएका बौद्ध लामा गुरु His Eminese डुपसिंग रिम्पुचे बाट मुल बत्ति प्रज्वलन गरिएको थियो भने लामा धर्म गुरूहरु द्वय गुप्त लामा ,जनता लामा र रक्षा लामा द्वारा पुजा अर्चना तथा वाँग ग्रहणको कार्यक्रमको आयोजना गरिएको थियो । पुजाआजाको कार्यक्रमको साथ साथै लामा बौद्ध गुरु डुपसिंग रिंम्पुचेले बुद्ध दर्शन र बुद्ध जयन्तीको महिमाबारे प्रवचन पनि दिएका थिए। औपचारिक कार्यक्रमको सभापतित्व ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनका अध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए भने आयोजक सम्पूर्ण संघ संस्थाको तर्फबाट तामाङ घेदुंग संघका अध्यक्ष प्रेम लामाले रेडिंगमा बुद्ध जयन्ति मनाऊने प्रचलनको शुरवात तामांग घेदुंग संघले शुरु गरेको र गत बर्ष यता हाल रेडिंग समाजले अग्रसरतासाथ मनाऊन लागेकोमा प्रसन्नता ब्यक्त गरे। त्यस्तै कार्यक्रमसंयोजक दीपक गुरुंगले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै संघ संस्था लगायत सम्पुर्ण स्वंय सेबकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Buddha

कार्यक्रम सञ्चालन ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनका महासचिव ओमकार अधिकारीले गरेका थिए । संयुक्त रुपमा आयोजना गरिएको उक्त पूजा तथा प्रवचन कार्यक्रममा ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसन, म्हाणे संघ रेडिङ, तामाङ घेदुंग संघ रेडिङ, रेडिङ तमु समाज, मगर समाज रेडिङ, पासा पुचः गुठी रेडिङ, क्षेत्री समाज रेडिङ, ठकुरी समाज रेडिङ, किरात समाज रेडिङ, फर्गटन ब्रिटिश गोर्खाज, रेब्गा रेडिङ, गेसो रेडिङ, आमा समूह रेडिङ, पेनी फर नेपाल, रेडिङ युथ र एचएसएमपी फोरम र बुद्ध गुम्बा आवद्ध थिए । ऊक्त कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्था र व्यक्तिबाट भोजन तथा चन्दा संकलन गरिएको थियो । भक्तजनहरुले जलपान, फलफूल, हल सजावट, फोटोग्राफी, म्यूजिक सिस्टम, मैनबत्ति समेत प्रदान गरेका थिए । कार्यक्रम सफल बनाउन रेडिङ म्हाणे संघ तथा आमा समूह रेडिङको विशेष योगदान थियो । कार्यक्रम संयोजन ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसन उपाध्यक्षद्वय सुशीला गुरुङ र दिपक गुरुङले गरेका थिए ।

साहित्य संगमको ७औं शृंखलामा रमाए रेडिंगका कविहरु

साहित्य संगमको ७औं शृंखला हिंजो रेडिंगस्थित बेईजिंग नुडल्स रेष्टुराँमा सम्पन्न भयो ।यादव श्रेष्ठको संयोजकत्वमा संपन्न संगमको ७औं शृंखला काव्यिक साँझमा उपस्थित कवि कवियत्रीले २० भन्दा बढि कविता र मुक्तक वाचन गरे। कार्यक्रममा कविहरू लाल गुरूंग, ओमकार अधिकारी, बिनोद अधिकारी,शुभा अधिकारी,कुमार के सी ,प्रतिमा के सी , रमेश कायस्थ, निर्मला न्यौपाने, महेश आचार्य र यादव श्रेष्ठले आ-आफ्नो सृजना वाचन गरेका थिए।

उक्त अवसरमा स्रष्टा लाल गुरुड़को 'लाहुरेको हातमा कलम' कविता संग्रह सहभागीहरूलाई वितरण गरिएको थियो।                            

युकेमा रहेका नेपाली इञ्जिनिएर्सहरुको बृहत अन्तरक्रिया कार्यक्रम

२१ अप्रिल,लन्डन ,सोसाइटी अफ नेप्लिज इन्जिनिएर्स इन् युके नामक संस्थाले आज  लण्डनको एरोमा लाउन्ज  रेस्टुरेन्टमा एक भब्य समारोहका बिच  अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। डा बिरेन्द्र श्रेष्ठद्वारा संचालित नेपालको बिकासको लागि नबिनतम  प्रबिधि तथा प्रयोगहरु शिर्षकमा ६ वटा रोचक,ज्ञानमूलक तथा सम्भावित कार्यपत्रहरु  प्रस्तुत गरिएका थिए। 

उक्त  कार्यक्रमको उदघाटन सत्रको सभापतित्व संस्थाका  अध्यक्ष्य घनश्याम पौडेलले गरेका थिए भने सो कार्यक्रममा नेपाली राजदुत डा.दु ब सु प्रमुख अतिथि तथा एनआरएन युकेका महासचिब आर के त्रिपाठी अतिथि रहेका थिए। भब्य सहभागीहरुका बीच उल्लेख्य अन्य अतिथिहरुका साथमा  संचालित उक्त कार्यक्रमको पहिलो सत्र डा बिरेन्द्र श्रेष्ठले संचालन गरेका थिए जसमा नेटवर्क रेल युकेका इञ्जिनिएर नारद भण्डारीको रेल्वे संरचनाको लागि एस्युरेन्स प्रोसेसको महत्व  ,राजेश पाठकको रेल्वे प्रोजेक्टको केस स्टडी अनि डा.बिनोद लाल अमात्यको काठमाडौँमा अन्डरग्राउंड मेट्रो रेल सम्बन्धि प्रस्तुतिहरु निकै रोचक तथा ज्ञानबर्दक रहे। 

डा रमेश मरासैनी द्वारा संचालित दोस्रो सत्रमा कृष्ण किशोर श्रेष्ठको महेन्द्रनगरको दोधारा चाँदनी पुलको डिजाइन सम्बन्धि ,रामहरी पौडेलको नेपालमा इनर्जी अभाब निर्मूल सम्बन्धि यस्तै  घनश्याम पौडेल तथा कन्हैया भगत कोइरीको मयाँदेवी मन्दिरको पुन निर्माणको ढाचाका चुनौतिको समाधानको रोचक प्रस्तुति रहेका थिए। हरेक प्रस्तुतिको अन्तमा त्यस सम्बन्धि सक्रिय प्रश्नोत्तर कार्यक्रम निक्कै नै उत्साहप्रद  रहेको थियो। 

डा. अधिकारी भए वेलायत-नेपाल प्रज्ञा परिषदको अध्यक्ष

लण्डन,  
२१ अप्रिल २०१८

 वेलायत र नेपालबीच प्राज्ञिक तथा शैक्षिक सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले संचालित प्रमुख संस्था ‘वेलायत- नेपाल प्रज्ञा परिषद’ (The Britain-Nepal Academic Council) को गत हप्ता भएको निर्वाचनमा आगामी ४ बर्षको लागि डा. कृष्ण अधिकारीको अध्यक्षतामा तीन मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको छ । जस अनुसार महासचिवमा लण्डन स्कुल अफ इकोनोमिक्सकी डा. पुनम यादव र कोषाध्यक्षमा बर्मिङ्घम विश्वविद्यालयका डा. फ्रेजर सग्देन निर्वाचित भएका छन् ।

परिषदले आयोजना गरेको १६ औं नेपाल अध्ययन दिवस (नेपाल कन्फरेन्स) को सिलसिलामा अप्रिल १७ मा दरहम विश्वविद्यालयमा बसेको साधारण सभामा निर्वाचन आयुक्तको भूमिका समेत निभाएका परिषदका निवर्तमान अध्यक्ष प्रो. डेविड गेल्नरले उक्त निर्वाचनको नतिजा सार्वजनिक गरेका थिए । यस अघि परिषदको कोषाध्यक्षमा डा सेलेन हिटन-श्रेष्ठ रहेकी थिइन् ।

अक्सफोर्ड विश्वविद्यालयको मानवशास्त्र विभागका अनुसन्धानदाता डा. अधिकारी नेपाल अध्ययन केन्द्र बेलायतका संस्थापक सदस्य र पूर्व कार्यकारी निर्देशक रहेका थिए भने उनी परिषदको चौथो अध्यक्ष हुन पुगेका छन् । यस अघि उनी उक्त परिषद्को महासचिव रहेका थिए । प्रा. सूर्य सुवेदी, प्रा. माइकल हट र प्रा. डेविड गेल्नरले सो पदमा रही यस अघि सेवा गरिसकेका छन् । परिषदले प्रत्येक दुई  वर्षमा चार वर्षका लागि चार चार जना कार्यकारी सदस्यको निर्वाचन गर्दछ भने तीन जना पदाधिकारी छुट्टै निर्वाचित हुने गर्छन ।

स्मरण रहोस सन् २००० , २३ मेका दिन बेलायतस्थित नेपालसँग सम्बन्धित विभिन्न क्षेत्रमा शोध रुची भएका मानिसहरू तथा प्राज्ञहरूको स्कूल अभ् ओरियञ्टल एण्ड अफ्रिकन स्टडिज (सोआस्) मा भएको एक भेलामा यस परिषदको गठन गरिएको थियो । बेलायत र नेपालका द्विपक्षीय चासोका विषयमा साझेदारीमूलक अनुसन्धान, आपसी आदन-प्रदानका कार्यक्रम, बार्षिक प्रवचनहरू तथा सेमिनार कार्यक्रमहरू आयोजना गरी बेलायत—नेपालबीच प्राज्ञिक तथा शैक्षिक सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले परिषदको गठन गरिएको कुरा डा. अधिकारीले जानकारी दिए ।

परिषदले हरेको बर्ष नेपाल प्रवचन कार्यक्रम आयोजना गर्दै आएको छ र प्रत्येक दुई वर्षमा उक्त प्रवचन दिन नेपालबाट प्राज्ञ ल्याउने गरिएको छ । गत कार्यक्रममा प्रा. पिताम्बर शर्माले प्रवचन दिएका थिए । त्यसै गरी हरेक बर्ष बेलायतको एउटा विश्वविद्यालयको आतिथ्यमा नेपाल अध्ययन दिवश (नेपाल कन्स्फरेन्स) आयोजना गर्दै आएको छ ।

यस बर्ष डा. बेन क्याम्पबेलको आतिथ्यमा दरहम विश्वविद्यालयमा भएको सोह्रौं नेपाल अध्ययन दिवशमा नेपाल, स्पेन, पोल्याण्ड, स्विजरल्याण्ड, स्विडेन, नर्वे, अस्ट्रेलिया, बेलायत लगायत विभिन्न देशबाट आएका शोधकर्ताहरूले नेपालसम्बन्धी विभिन्न विषयमा आफ्नो ताजा अनुसन्धानमा आधारित ३५ वटा कार्यपत्रहरू प्रस्तुत गरेका थिए । कुल ७० जनाको सहभागिता रहेको र दुई प्यानलमा सञ्चालन भएको उक्त कन्फरेन्सको सिलसिलामा लुम्बिनी म्युजियम, १९७७ को हिमालयन एक्पिडिसन्, तिलौराकोट उत्खनन् को बारेमा थप विशेष प्रस्तुति र सेरा तामाङको मुख्य प्रस्तुति रहेको थियो ।

यो सालदेखि युरोप वा दक्षिण एसियाका कुनै एक विश्वविद्यालयमा भर्ना भै नेपाल वा संसारभरिका नेपालीसँग सम्बन्धी विषयमा विद्यावारिधि गरेका विद्यार्थीहरूका लागि प्रतिस्पर्धात्मक रूपमा छनोट हुने गरी ‘विद्यावारिधि शोधपत्र पुरस्कार’ सञ्चालनमा ल्याइएको जनाइएको छ । परिषदका अनुसार सन् २०१८ को पुरस्कार कोपनहेगन विश्वविद्यालयकी डा. मरिना क्रोजेनेभिकाले  प्राप्त गरेकी छन् ।

आगामी २०१९ को नेपाल अध्ययन दिवश एडिनबरा विश्वविद्यालयमा र २०२० को कार्यक्रम युसिएल लण्डनमा आयोजना हुने तय भएको छ भने २०१८ को सोह्रौं नेपाल प्रवचन जर्मनीको बेलेफेल्ड विस्वविद्यालयकी प्राध्यापक जोअना पाप्फ-जार्नेकाले १ नोभेम्बरको साझ सोआस्, लण्डनमा दिने जनाइएको छ ।

यसरि लामो समय देखि नेपाली प्राज्ञ र अनुसन्धानकर्ताहरुले वेलायत र अन्य मुलुकका समकक्षीहरुसंग हातेमालो गर्दै अगाडी बढेको यस संस्थाले नेपालको प्राज्ञिक तथा शैक्षिक मात्र नभई सामाजिक विकाश लगायतका क्षेत्रहरुमा टेवा पुर्याउने बिस्वास गर्न सकिन्छ ।

आजको विनिमय दर
>