लण्डन-काठमाडौं

अलमलिएको टिका

यसपाली त मेरो पनि छ कि टिका निधारमा
मुख सम्म आयो तर चढेन त्यो निधारमा

हिजो सम्म थियो रमझम भेटिएन बिहानीमा
सम्झनाका चिसा थोपा सुक्न लागे सिरानीमा
अलपत्र भए यहाँ जमरा ति ढलिमली
दोधारमा परेका छन् सयपत्री र मखमली
आगनीमा थियो टिका पोहोर पनि यसै गरि
सकिएन पुर्‍याउन निधारमा कसैगरी

यसपाली त मेरो पनि छ कि टिका निधारमा
मुख सम्म आयो तर चढेन त्यो निधारमा

थालीमा ति सुकुमार हातले रंग भर्दा भर्दै
ठप्प भए मन्द मुस्कान ओठ बाट झर्दा झर्दै
किन होला सुन्न पर्ने वियोग प्रियजनको
नझरेनी हुन्थ्यो शब्द दुखि यो कलमको
लठ्ठे पिङ्गमा मच्चिएको दुइ मुठी सास पनि
समयको बेग संगै हुइकिने आस पनि

यसपाली त मेरो पनि छ कि टिका निधारमा
मुख सम्म आयो तर चढेन त्यो निधारमा

Banner
sradanjali
 थप पोस्ट

कत्ति रमाईलो असारे बेठी

ढिकीलाई ओखल जाँतोलाई मानी
कोदाली खन्दै धान रोप्ने बानी 
हातमा अनौ हरिसमा नारा
रोपाईंमा गाँउले रमाउदै सारा

खेतको मेलो आरामलाई चौतारो
गोरुलाई हलो जुवालाई जोतारो
खडेरी पर्दा त्यो चिम्ट्या माटो
मेटाउन गाह्रो जोत्दामा रांटो

समाउदै दांदे र जुवाको सैलो
रोपारको रमझम हिलो र मैलो
भर्दै छिन कलकल मूलको पानी
खाजा पस्कने ती सानी नानी

छेलोखेलो गरामा हिलो
बिउको मुठो नगर ढिलो
नाच्दै गाउँदै ती ठिटा ठिटी
कत्ति रमाइलो असारे बेठी

आइमाई

हिंजो पनि थिए ती पहाडहरु

आज पनि ती उस्तै उस्तै लाग्छन

कैयौं पटक हिउंले ढाक्यो

पहिरोले घाउ लगायो

हावाहुरीले अस्तित्व मेटाउन खोज्यो

डढेलोले त झन निर्वस्त्र गरायो

अँहँ उस्ले हार खांदै खाएन

कहिल्यै झुक्दै झुकेनन् पहाडहरु

कहिल्यै सुकेनन पलाईरहे

घरैघरको मरुभूमि हुनबाट बचाईरहे

सदियौंदेखि उभिएका ती पहाडहरु जस्तै

आइमाईहरु दु:खका अग्ला पहाड हुन

तीनै पहाडहरु आइमाई हुन !

 

आमाको गर्भ भित्रभित्रै

भ्रुण हत्याको युद्ध जितेपछिकी

युद्ध सिपाही नै आइमाई हो

संकारको विश्वविद्यालय  बावुबाट

सभ्यताकी जन्मदाता आमाबाट

सिकाइहरु सिकिंदै गएपछि

धर्म,संकार र इज्जतको

महंगा र गह्रुंगा गहना भिराई

एउटा लज्जाको घुम्टो ओढाएर

कुल, खान्दान र समाजको कुम्लो बोकाई

मारे पाप,पाले पुन्य भन्दै कन्यादान गरी

फेरी अर्को महायुद्ध लड्नको लागी 

अग्नीमा चरु जस्तै होमीदिन्छन

जुन स्वीकार्नुको विकल्प छैन

अस्वीकारको प्रवाह नै छैन

तन,मन र मस्तिष्क बलत्कृत भैरहदा

निरीह सिपाही बनेर आफैसंग लडीरहन्छे

आइमाईको अस्त्रशस्त्र भनेकै प्रेम हो

प्रेम सबैभन्दा कमजोर हतियार हो

कमजोर हतियार हुनु कारण हो

बम,बारूद र बन्दुकको युद्ध लडेको भए

सायद आइमाईहरु रहने थिएनन

फेरी आइमाईहरु नभएको भए

आइमाईमाथि शासन गर्ने 

हैकमबाद जन्मने थिएन

पितृसतात्मक शासन टिक्ने थिएन

जवसम्म आइमाईले गर्भधारण गरिरहन्छे

यो युद्ध निरन्तर चलिरहन्छ

युद्ध आइमाईका छोटा दु:ख हुन

अविरल युद्धका निशस्त्र सिपाही भएर

छोटा छोटा जिन्दगीको लडाईं लड्दै

समतामुलक समाजको कल्पना गर्ने 

आइमाईहरु लामो युद्ध हुन !

 

सत्ययुगमा सतिदेवीले पनि

अग्निकुण्डमा हाम फालेकी थिइन

कलियुगमा योगमायाहरु जलसमाधि लिए

द्वापरयुगमा सीताको अग्नि परिक्षा 

त्रेतायुगमा द्रौपदीको चीरहरण

कृष्णकी प्रेमीका राधाको त्याग

यी सबै नारीहरु हाम्रो आदर्शको कथा हुन

तथापि धर्मले आइमाईलाई कमजोर मानेको छैन

कमजोरहरुले आफुलाई बलियो बनाउन 

धर्म र संकारको आड लिएका हुन

त्यसैको फलस्वरूप धृतराष्ट्र र गान्धारी जन्मिए

दुर्योधन र दुस्सासनहरु बढीरहेका छन

जन्मघर घर जस्तो सुरक्षित नभएपछि

आफ्नै मन पनि कहाँ सुरक्षित हुन्छ र !

आफैसंग,आफन्तसंग र परायसंग

लड्दा लड्दै आइमाई युद्धभुमी भएकी छ

युद्धमैदानमा  अर्धपागल अर्धमुर्छित छ

आइमाई भन्नु नै एउटा सिंगो युग हो

युग भन्नु आइमाईको जिन्दगी हो

आइमाईहरु युद्धभुमी कुरुक्षेत्र हुन

सिंगो महाभारत नै आइमाई हुन !

 

सदियौंदेखि चुलो बालीरहेकी छ

मेलापात अफिसको कामकाज सकेर

आज पनि जुठोभांडो माझीरहेकी छ

आफ्नै तन र मनसंग अधिकार गुमाएका

विभेदपुर्ण समाजमा हुर्किएर समतामुलक 

समाजको परिकल्पना गर्ने तिनै आइमाईहरु

संसारका सबैभन्दा सस्ता श्रमिकहरु हुन 

तिनै सस्ता आइमाईहरुले फेरी एकपटक

एक्काइसौं शदिको समय बुलन्द पार्दै

फेरी अर्को एउटा युद्ध लड्नु पर्ने छ

हो अव त्यहीं एउटा 

अन्तिम युद्ध बांकी छ

त्यो युद्ध जरुर लड्नुपर्छ

जुन युद्धपछि आइमाई जन्मिने छैनन

आइमाईहरुले गर्भधारण गर्ने छैनन

आइमाईले गर्भधारण नगरेपछि

शासकहरु जन्मिने छैनन अनि

हामीले शाशित हुनुपर्ने छैन

हो,

हामीले

अब लड्नु पर्ने 

त्यहीं एउटा मात्र

अन्तिम युद्ध बांकी छ !

 

धन्यबाद

प्रतिमा के सी

रुपन्देही 

हाल: बेलायत

१०८औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मुक्तक बिशेष

मुक्तक - १

जिन्दगी अविरल युद्ध हो शहिद हुन आइमाइहरु   

जिउंदा मान्छेको भीडमा कथित हुन आइमाइहरु 

अर्कैको इशारामा सजिन्छे भत्किन्छे रोबट जस्तै

बिना सपना बांच्न सक्ने अजीब हुन आइमाइहरु 

 

मुक्तक – २

मृत सपनाको  कंकाल बोकेर हिंडिरहेकी छ उस्ले

तात्तातो मनको मसाल  ओढेर हिंडिरहेकी छ उस्ले

अझै पनि आइमाइ हुनुको क्रूर नियति भोग्दै भोग्दै

विभेदको अग्लो पर्खाल तोडेर हिंडिरहेकी छ उस्ले

 

मुक्तक – ३

सगरमाथा  अग्लो लाग्छ उचाइको कथा लेखिएन

मीठाइ  मीठो लाग्छ दुध कराइको कथा लेखिएन

तिमी हामीले भोगीरहेको पितृसतात्मक समाजमा 

प्रेमीका अव्वल लाग्छ आइमाइको कथा लेखिएन

 

मुक्तक – ४

अन्यायको त्यो बर्वर समाजमा पनि  बांचिरहे नारीहरु

पितृसतात्मक चिन्तनको कमालमा  हांसीरहे नारीहरु

एक्काइसौं  सदीलाई सहज  बनाउनुपर्छ  मिलीजुली

हरेक युगयुगमा मान्छे भएनन केवल दासीरहे नारीहरु

 

मुक्तक – ५

महिलामैत्री नीति नियम बनाउने  कबुल छ सरकारमा

समतामुलक समाजको महशुस जरुर छ सरकारमा

प्रदेश, संसद र रास्ट्रियसभामा महिलाहरु पुगेका छन

परिवर्तन पक्कै छ महिला नेतृको पहुँच छ सरकारमा

 

प्रतिमा के सी

रुपन्देही

हाल बेलायत

७ मार्च,२०१८

 

सम्पुर्ण महिला दिदीबहिनी तथा दाजुभाईहरुमा १०८औं अन्तरास्ट्रिय महिला दिवसको शुभकामना !

१६ वर्षमै मोडेल करिष्मा ढकालको चमत्कार (भिडिओ सहित )

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो क्षेत्र हो जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउन पनि सक्छ। एकातिर अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट धेरै अवसरहरु  पाईरहेको पनि हुन्छ। अर्को तिर फेरि  ग्लायमर क्षेत्रलाई लिएर समाजमा नकारात्मक भावना पनि रहेको पाईन्छ । तर पछिल्लो समयमा भने नयाँ युवा युवतिहरु यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ। धेरै सफल पनि भैरहेका छन । यसै मध्येकी हुन गोरखा पुख्यौली घर भई काठमाडौमा जन्मेकी अनि अहिले काठमान्डौँमै बसेर मोडलिङ तथा म्युजिक भिडियोमा निकै ब्यस्त  मोडल करिष्मा ढकाल । 

karishma

निकै छोटो समयमा ३५० भन्दा बढि आधुनिक तथा लोकगितमा अभिनय गरिसकेकी उनी अहिले सबै डाइरेक्टर र गायक गायिकाको पहिलो रोजाइमा पर्छिन  । सानै उमेर देखी नृत्यमा रुचि भएकी उनी एस एल सी  दिए लगत्तै सोह्र (१६ ) बर्षको उमेरमा मोडलिङमा लाग्ने सोच बनाइन र लागीन पनि। अहिले आएर त  उनी निकै चर्चाको शिखरमा रहेकी छन्। 

Karishma

 सरल अनि आकर्षक करिष्मा गित,सङ्गित र खेलकुदमा विशेष रुचि राख्छिन।उनले अभिनय गरेको पहिलो म्युजिक भिडियो पञ्चेवाजामा तयार पारिएको गित "बाग्लुङ बजार” हो। यहि भिडियो मार्फत उनले यो क्षेत्रमा पाइला चालेकी हुन।जुन गित  २०७२ सालमा तयार पारिएको  थियो। त्यसपछी तिजको "सेल्फी खिचौला" भन्ने गितले उनलाइ सबै सामु परिचित गरायो। सेल्फी गितको सफलताबाट नै उनको चर्चाले एकाएक साँगितक बजारमा  शिखर चुम्न थाल्यो । 

Description

मोडलिङमा आउन परिवार बाट कत्तिको सहयोग मिल्यो भन्ने हाम्रो प्रश्नमा उनले भनिन्  "परिवारले मलाई एकदम सहयोग गर्नु भो, कुनै रोकटोक गर्नु भएन। मेरो आफ्नै सानो बाबा चर्चित संगीतकार श्रीकृष्ण बम मल्ल जसले धेरै नै सहयोग गर्नु भयो यहाँ सम्म आइपुग्न। उहाकै कारणले आज म यहाँ सम्म आइपुगेको छु। वसन्त थापा दाजु को पनि ठूलो हात छ। मेरो डान्स पार्टनर तथा चर्चित म्युजिक भिडिओ डाइरेक्टर कजिश श्रेष्ठ ज्यू तथा अन्य सबैको माया र हौसलाले आज यहाँ सम्म आइपुगेको छु। हरेक क्षेत्रमा पारिवारिक सहयोग चाहिन्छ अनि सफल भइन्छ”।उनले आफु कसैको प्रेममा नपरेको र आफ्नो करियर  अनि काममा कसरी सफल बन्न सकिन्छ भन्ने विषयमा सधै लागी परेको बताएकी छन ।

लन्डन काठमाडौँ परिवार यी प्रतिभाकी धनि करिश्माको सुन्दर तथा सफल जिबनको कामना गर्दछ। आउनुहोस् तलको लिंक क्लिक गरि नारायण कंडेलको शब्द अनि सन्जिब कुमार पौडेलको संगीत तथा स्वोरको "अस्तित्व" एल्बमको यस मिठो गीतमा कजिश श्रेष्ठको निर्देशनको उनको कजिश संगको नृत्य हेरेर आनन्द लिनुहोस्। 

कजिश श्रेष्ठ चम्के नेपाली भिडिओ म्युजिकमा (भिडिओ सहित)

रौतहट ,चपुरमा जन्मेर जीवनका उकाली ओरालीमा रमाउदै काठमाडौँलाई कर्मथलो बनाउनु आफैमा चुनौतिपूर्ण छ। त्यसमा पनि भिडिओमा मोडेलिङ्ग हुदैं डाइरेक्टरसम्म हुने कुरा पनि धेरैको सपनामै सिमित हुने कुरा जस्तो हुन्छ। तर यसलाई यथार्थमा बदल्दै लाखौँ दर्शकको मुटुको धड्कन बन्न सफल भएका छन् कजिश श्रेष्ठ ,एक काबिल मोडेल अनि  सफल डाइरेक्टरको रुपमा। 

म्युजिक क्षत्र प्रवेशको  तीस महिनाको अन्तरालमा दुइ सय भन्दा बढी भिडिओमा मुख्य अनि महत्वपूर्ण भूमिकामा रहेर काम गरि सकेका कजिश स्वयं नृत्यमा पनि 
दख्खल राख्छन। होलि गित,लोक गित,पप गित,पन्चे बाजा गित,भजन ,गजल देखि लिएर आधुनिक हिपप गित संगीतमा समेत उनको उत्कृस्ट निर्देशन तथा आकर्षक नृत्य बिभिन्न टिभी च्यानल तथा युट्युबमा सहजै देख्न पाइन्छ। बहु प्रतिभाका धनि,मिलनसार अनि अति परिश्रमी कजिशको कार्यशैलीले धेरै निर्माताको मन जितिसकेको छ। 

बिभिन्न स्टेज डान्स प्रोग्रामहरुमा माग हुन थालेका कजिश निकट भविष्यमै देश तथा विदेशको नृत्य यात्रामा अघि बढ्ने योजनामा छन्। आफ्नो कला देखाएर दर्शकहरुलाई मनोरन्जन दिनु नै उनको जिबनको सबै भन्दा ठुलो उदेश्य रहि आएको छ। लन्डन काठमाडौँ परिवार कजिशको सफल र सशक्त निर्देशन तथा मोडेलिंग भविष्यको कामना गर्दछ। 

आउनुस् तलको लिङ्क क्लिक गरी नारायण कंडेलको शब्द रचना,सन्जिब  कुमार पौडेल को संगीत अनि स्वरमा उनिबाट निर्देशित साथै कजिश र करिश्मा ढकालको लुम्बिनी क्रुजको साथको नृत्य हेरि मनोरन्जन लिऔ।  

आजको विनिमय दर
>